
काठमाडौँ /
प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो।
काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसरकाठमाडौँ ले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’
असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ। मङ्गलवार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।३६ वर्षीय आचार्यले संसद् भवन अगाडी पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि प्रहरीले सो सूचना जारी गरेको हो ।
यसअघि सिभिल मलमा पनि एक जना युवकले पेट्रोल छर्केर आफैँलाई जलाएका थिए। दरबारमार्ग स्थित केल्मी ब्राण्डको शोरुम सञ्चालिका २७ बर्सिया पुष्पा न्यौपानेले १८ मङ्सिरमा पेट्रोल छर्केर आफैँलाई जलाएकी थिइन्। धुम्बाराही स्थित प्रेमी सुदन संग्रैलाको घरको गेटमा गएर पेट्रोल छर्केर आफैँलाई जलाएकी पुष्पाको उपचारको क्रममा मृत्यु भएको थियो ।रासस