नुवाकोट /
रोल्पा जिल्लाको राङसीमा जन्मिएर कतारलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएका साहित्यकार शोभाराम ओलीको नयाँ कृती अथाह (बाछिटा सङ्ग्रह) बजारमा आएको छ। नेपाली साहित्यमा बिल्कुलै नयाँ र नेपालीभूमिमै प्रतिपादित काव्यिक उपविधा छोटो समयमा नै सबैको मन मस्तिष्कमा बस्न सफल भएको छ।

जीवन, जगत् र भोगाइका अनन्त संवेगहरूलाई तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकृतिका वैविध्यपूर्ण स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुतिका आधारमा गरिएको व्याकरणिक भाषिक अभिव्यञ्जनालाई बाछिटा भनिन्छ।
यस बाछिटा सङ्ग्रहमा एउटा पेजमा पाँचवटा बाछिटा छन् भने पेज १५ देखि सुरू भएर १०४ सम्म रहेकोे छ ।
लगभग ४५० वटा बाछिटा समावेश गरिएको छ ।”अथाह बाछिटा सङ्ग्रह”का लेखक शाेभाराम ओलीकाे याे बाछिटा सङ्ग्रह चाैँथाे सङ्ग्रह हाे ।
तीन अक्षर पाँच अक्षर फेरि तीन अक्षरले बाेलेकाे कुरा एउटा लामाे कथाले बाेलेकाे छ ।साहित्यमा जम्मा एघारवटा अक्षरले एउटा कथा बाेल्छ भन्ने कुरा याे बाछिटा सङ्ग्रह पढेर थाहा पाउन सकिन्छ।
परदेशको कथा,अभावमा तड्पिने मन, विकृती विसङ्गतिको बिरुद्ध बाछिटाले धेरै बाेलेकाे छ ।यसमा विश्व ब्रम्हाण्डमा विचरण गर्न प्रायस गरिएको छ।
उनले परदेशमा बसेर पहिले नै उनले अधुरो जीवन (उपन्यास) , परदेशमा व्यथित मन (गजल सङ्ग्रह) र परदेशी सपना (मुक्तक सङ्ग्रह) प्रकाशित गरिसकेका छन् ।
