
काठमाडौ /
जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।तीन दिनदेखि जारी बैठकले उक्त निर्णय गरेको हो।
केन्द्रीय समितिको बैठक बस्नुअघि फागुन २८ गते जसपा संघीय परिषद्को बैठक बस्नेछ ।
विधान संशोधनका लागि असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ।स्थानीय तहको निर्वाचन निर्देशिका समिति पनि गठन गरेको छ। सो समितिमा कार्यकारिणी सदस्यहरू हिसिला यमी, मनिष सुमन र नवराज सुवेदीलाई राखिएको छ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा पार्टीको समायोजन फागुन मसान्तमा गर्ने निर्णय समेत भएको छ ।
पार्टीमा कार्यविभाजन, रिक्त पदपूर्तिलगायतको विषयमा भोलिदेखि छलफल हुने बताइएको छ ।जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विधानमा व्यवस्था भए अनुसार दुईजना कार्यकारी अध्यक्ष राख्नुपर्ने प्रस्ताव राख्दै आएका छन् ।जसपाको अन्तरिम विधानमा दुईजना अध्यक्षको व्यवस्था गरिएको छ ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण हुँदा बनेको जसपामा दुईजना अध्यक्षको व्यवस्था गरिएको थियो ।महन्थ ठाकुर जसपाबाट अलग भएपनि सो विधान संशोधन गरिएको छैन। जसपाका अध्यक्ष उपेन्द्र यादव एकजना मात्र अध्यक्ष राख्ने पक्षमा छन् ।उनी विधान अधिवेशन गरेर विधानबाट दुईजना अध्यक्ष राख्ने प्रावधान हटाउने पक्षमा रहेका छन् ।