काठमाडौं 

दशैंको पाँचौं दिन अर्थात् पञ्चमी तिथिका दिन पृथ्वी राजमार्ग हुँदै दशैं मान्न घर जानेहरुले खचाखच बसको लर्काे थियो ।

राजमार्गको किनारामा उभिएर ३६ वर्षीय रामशरण सुवेदी यही दशैं बोकेर कुदिरहेको गाडीको गति नियाल्छन्, मनमा कुन्नी के सोच्छन् र त्यो उत्कण्ठदायक दृश्यलाई त्यसै छाडेर आफ्नै कामतिर लाग्छन् ।

उनको काम हो बिहान खाजा खाएर त्रिशूली नदीमा झर्ने ।दिनभरि बालुवा निकालेर किनारामा थुपार्ने र दिनभरको पैसा लिएर साँझ घर फर्किने ।‘अरुको पो दशैं मनाउन तलब र पेस्की आउँछ, हाम्रो लागि त त्रिशूलीमा नडुबी दशैं आउँदैन,’ यति भन्दै उनी त्रिशूली किनारातिर झरे ।

उनको घर पृथ्वी राजमार्गबाट १५ मिनेट जतिको पैदल यात्रामा पुगिन्छ ।घरमा श्रीमती र दुई छोराछोरी छन् । ‘खेती गर्न जमिन छैन, अरुको कमाउँ भन्यो अधियाँ दिन पनि मान्दैनन् ।त्योभन्दा जोखिम भए पनि सिधै पैसा आउने काम गर्ने भनेर बालुवा उठाउन आउने गर्छु,’ उनी भन्छन्, ‘असारदेखि कात्तिकको मध्यसम्म यहाँ काम चल्छ ।अरु बेला पाए कुल्ली काम, नपाए आराम ।

किनारमा पुगेर त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र । कम्मरमाथिको टिसर्ट किनारामा राखेर उनले एकपटक त्रिशूली नदीलाई ढोगेर के मागे कुन्नी ।

वर्षामा त अलिकति दौडधुप गर्यो भने दिनको दुई टिपसम्म पनि बालुवा निकाल्न भ्याउने सुनाउँछन् । तर अहिले त एकटिप जम्मा पार्दै दिन बित्छ ।

रामशरण खेती लगाउने र भित्र्याउने सिजनमा अरुको मेलामा गएर पनि खर्च जुटाउँछन् । अरु समयमा पनि कतै त्यस्तै काम छ भने जाने हो, होइन भने फुर्सदिलो भएर बस्नुपर्ने गुनासो गर्छन् । उनी भन्छन्, ‘त्रिशूलीबाट बालुवा निकाल्यो भनेर काठमाडौंमा बसेर धेरैले रिस पनि गर्छन्, तर यो ननिकाल्ने हो भने दर्जनौं परिवारको चुल्हो निभ्छ ।’

उनी पुग्ने बेलासम्म उनका साथीहरुले २ ट्रिपर बालुवा किनारामा थुपारिसकेका थिए । एउटा ट्रिपर भरिनेगरी बालुवा निकालेको ५ हजार रुपैयाँ पाइन्छ । एउटा समूहमा ५ देखि १५ जनासम्म हुन्छन् । आएको पैसा दामासाही वितरण गरिन्छ । रामशरण भन्छन्, ‘हुन त दैनिक एक हजार जति कमाइ हुन्छ, तर भारी बोक्नुपर्ने भएकाले त्यही अनुसार खानामा खर्च गर्नुपर्छ । बच्ने भनेको त त्यही ५÷६ सय नै हो ।’

डिलमा बसेर एकछिन गुनासो सुनाएपछि उनी त्रिशूली किनारतिर झर्छन् । किनारमा पुगेर त्रिशूली नदीलाई ढोग्छन्, अनि छिर्छन् पानीको बेगभित्र ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय