
नुवाकोट/ जिल्लाको विदुर नगरपालिका-१३ स्थित कालिका माई युवा क्लबले आयोजना गरेको प्रथम कालिका माई फुटबल प्रतियोगिताको उपाधि बोलनटार युवा क्लबले जितेको छ।
सोमबार वडा कार्यालय खेल मैदानमा सम्पन्न फाइनल खेलमा बोलनटारले देउडी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो।
विजेता बोलनटार युवा क्लबले नगद २० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता देउडी युवा क्लबले नगद १० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाएको छ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य र नुवाकोट इन्चार्ज केशवराज पाण्डेले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वस्थ बनाउने भन्दै यस्ता प्रतियोगिताले स्थानीय खेलकुद विकासमा योगदान पुर्याउने बताए। उनले देउडी स्थित खेल मैदानको स्तर उन्नतीको लागि आबश्यक पहल गरिने प्रतिबद्वता व्यक्त गरे।
समापन समारोहमा क्लबका अध्यक्ष राजकुमार तामाङको अध्यक्षता र विशिष्ट अतिथि विदुर-१३ का वडा अध्यक्ष भरत तामाङको उपस्थिति थियो
विदुर-१३ का वडा अध्यक्ष भरत तामाङले प्रतियोगिताले सामुदायिक एकता र भाइचारा मजबुत बनाएको भन्दै भविष्यमा पनि यस्ता गतिविधि निरन्तर आयोजना गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे।
समापन समारोहमा एमाले जिल्ला सचिव शिव नारायण चित्रकार, क्षेत्र नम्बर २ का इन्चार्ज अरुण कुमार श्रेष्ठ, बिदुर नगर अध्यक्ष अनुज कुमार श्रेष्ठ, बागमती प्रदेश सदस्य नवराज ओझा, वडा कमिटी-१३ का अध्यक्ष चिरञ्जीवी ओझा, जिल्ला खेलकुद महासंघका अध्यक्ष राजन श्रेष्ठ, र कांग्रेसका स्थानीय नेता विश्वराज अधिकारी लगायत खेलाडी र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजसेवामा महत्वपुर्ण योगादा गर्नुहुने
गणेश जङ मल्ल, भरत सिंह ठकुरी, मिन शाही, गोपाल तामाङ, तारा सिंह ठकुरी, राम बहादुर तामाङ, भोजराज अधिकारी, र कृष्ण जङ मल्ललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
माघ ११ गतेदेखि सुरु भएको प्रतियोगितामा १४ समूहले प्रतिस्पर्धा गरेका थिए। क्लबले प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ ।
यस प्रतियोगिताले स्थानीय खेलाडी र खेलप्रेमीहरूको उत्साहजनक सहभागिता तथा सामुदायिक खेलकुद प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको पाएको छ ।