
नुवाकोट /
चैतमा पाक्ने काफल माघमै पाकेपछी स्थानीय आश्चर्यचकित परेका छन। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा मानिस अहिले आश्चर्यचकित छन्, किनकि यहाँ माघमै काफल पाक्न थालेको छ।
विगत वर्षदेखि नै यो क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेको थियो। तर यो वर्ष त यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो।
गत वर्ष जेठसम्म पनि नपाकेको चैते काफल छिल्लीकोटमा यो वर्ष भने पुसदेखि नै पाकेको छ। यस्तो कहिल्यै हुन्थेन। यो के अचम्म भएको हो?’ स्थानीय प्रवीर पुनले भने। केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उनको भनाइ छ।
जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। उनका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको हो। ‘यो वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन’, उनले भने, ‘यसको प्रभावले पनि छिटै काफल पाकेका हुन्।’
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ। बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उनको भनाइ छ। रासस