हिमाली जिल्ला मनाङमा यसवर्षको पहिलो हिमपात शुरु भएको छ। गत वर्ष यो समयमा हिमपात भएको थिएन। जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए।
‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ’, अध्यक्ष गुरुङले भने।
उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ। हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ। समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन्।
स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताए। ‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ’, उनले भने।
हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए। ‘हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ’, उनले भने। हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुसी हुने गरेको उनले बताए।रासस