११ दिनको पैदलयात्रा पछी: मिटरब्याज पिडित काठमाडौमा

समाचार

काठमाडौ /
११ दिन पैदलयात्रा गरेर मिटरब्याज पिडित काठमाडौ पुगेका छन। सरकारसँग न्यायको माग गर्दै आठ जिल्लाका मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका हुन्।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका पीडितहरू चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरि हुँदै काठमाडौं आइपुगेका सिरहाको औरही–४ का पीडित मनोज पासवानले बताए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, झापा र खोटाङ जिल्लाका ७२ जना पीडितहरू काठमाडौं आइपुगेका हुन्।

‘हामी ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छौं,’ पासवानले भने, ‘आज (आइतबार) मातातीर्थमा बास बसेका छौं। भोलि (सोमबार) यहीँबाट माइतीघरमा गएर आन्दोलन गर्छौं।’

आफ्नो माग पूरा नभएसम्म नफर्किने उनले बताए। मिटरब्याज पीडितहरूले तमसुक खारेजी, सुदखोरले हडपेको र बढी असुल गरेर लिएको सम्पत्ति फिर्ता र सुदखोरमाथि कारबाही गरी उनीहरूको अवैध सम्पत्ति छानबिन गर्नुपर्ने माग अघि सारेका छन्। यसबाहेक अन्य थप मुद्दाका विषयमा पनि छलफल भइरहेको पीडित पासवानले बताए। ‘अझै छलफलमा छौं। केही जिल्लाबाट पनि पीडित साथीहरू आउँदैछन्। सबैसँग छलफल गरेर अघि बढ्छौं,’ उनले भने।

उता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का मिटर ब्याज पीडितहरू पनि चैत २० गतेसम्म काठमाडौं आइपुग्ने उनले बताए। ‘हामी यही आन्दोलनमा छौं। अहिले (शुक्रबार) पनि सिडिओ कार्यालयमा धर्ना दिइरहेका छौं,’ मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, ‘२० गतेसम्म काठमाडौं नै आएर आन्दोलन गर्छौं।’

यसअघि गत साउनअघि मिटरब्याज पीडितले महिनौंसम्म आन्दोलन गरेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चासो देखाएका थिए। त्यसपछि गृह मन्त्रालयले ‘मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ बनाएर छानबिन गरी २६ पेजको प्रतिवेदन बनाएको थियो। यस्तै पीडितहरूसँग सहमति गरेर आन्दोलन टुंग्याइएको थियो। सरकारको सहमति पालन नगरेको र पीडितहरूले अझै न्याय नपाएको भन्दै उनीहरू पुनः आन्दोलित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *