आज फागु पर्व (होलि) पहाडी र हिमाली जिल्लामा हर्षोल्लास पुर्वक मनाईदै:

ताजा समाचार समाचार

नुवाकोट /
नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली जिल्लामा सार्वजनिक बिदा दिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। कोरोना संक्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ। यसअघिका दुई वर्ष कोरोना संक्रमणाको कारण होली पर्व खल्लो भएको थियो।

गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।

होलीलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा ३५ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।

निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउँछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *