सुनसरी /
गजलकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजलसङ्ग्रहको एक समारोहका बीच विमोचन गरिएको छ ।

साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा शनिबार आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा नम्बर १३ का अध्यक्षसमेत रहेका प्रतिष्ठानका संरक्षक नेत्र काफ्ले, प्राध्यापक कविराज न्यौपाने, अजग्र गजलकार देवी पन्थी, साहित्यकार ममता मृदुल, डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीका अध्यक्ष विनोद विवश, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले संयुक्त रुपमा गजलसङ्ग्रहको विमोचन गरे ।

विमोचित कृतिका बारेमा अग्रज साहित्यकार मधु पोखरेलले समीक्षा गरेका थिए । कृतिमा गजलका सिद्धान्तलाई आत्मसात गर्दै शृंगारिकसहित समसामयिक विषयलाई सशक्त रुपमा उठाइएको पोखरेलले दाबी गरे । समीक्षक पोखरेलले सङ्ग्रहमा सबै स्वाद र विषयका गजलहरू समावेश भएको बताए । त्यस्तै कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित, गजलकार लीला अनमोल, विनोद विवश, हेमन्त निरौला, दीपा वाग्ले, किरण चापागाईं, वसन्त विनोदलगायतले विमोचित कृतिभित्रका गजलहरू वाचन गरेका थिए । सङ्ग्रहमा १०१ वटा गजल सङ्ग्रहित छन् ।

सोही अवसरमा पत्रकारसमेत रहेका धनकुटाका साहित्यकार रमेशचन्द्र अधिकारी, नुवाकोटीकी सुमित्रा कार्की, मोरङका युवराज ठकुरी, सुनसरीका एकराज थापा, श्रीभवानी नेपाल, हिक्मत खड्का, मित्र गौतम उराठी, रोमा लम्साललगायतलाई सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठलगायतले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय