• कार्तिक १८, २०८३ बुधबार
    04 Nov, 2026, Wednesday

    लक्ष्मीपूजा र मेरो देश !


    २०८३ कार्तिक १८, बुधबार

    २०८३ कार्तिक १८, बुधबार

    तिहार आयो, झिलिमिली भयो !
    हरेक घरमा दीयो बल्यो,
    हरेक झुपडीमा लक्ष्मीको पूजा पनि भयो !
    तर…
    हरेक झुपडीमा लक्ष्मी कहिल्यै आइनन् !

    धनीका महलमा सुनका दियो बले,
    गरिबका झुपडीमा तेलका थोपा जले !

    कसैले धनको थुप्रोमाथि पूजा गरे,
    कसैले ऋणको भारी बोकेरै रात काटे !

    कसैको महलमा झिलिमिली बत्ती बल्यो,
    कसैको झुपडीमा चुलोसमेत बल्न सकेन !
    कसैले सुनचाँदीले पूजा थाली सजाए,
    कसैले एक छाक खानकै लागि पसिना बगाए !

    लक्ष्मी मातासँग धनधान्य मागियो,
    तर छिमेकीको भोक कसैले देखेन !
    सुख, शान्ति र समृद्धिको कामना गरियो,
    तर गरिबको आँसु पुछ्ने हात कतै भेटिएन !

    लक्ष्मी माता त सबैकी साझा हुन्,
    तर अवसर र सम्पत्ति किन केहीको मात्र ?
    पूजा त सबैले श्रद्धाले गरे,
    तर समृद्धिको उज्यालो किन सबैको घरमा परेन ?

    सायद दोष पूजाको होइन,
    सायद दोष हाम्रो सोच र कर्मको हो !
    माता लक्ष्मीको कृपा सबैमा रहोस्,
    हरेक घरमा सुख, शान्ति र समृद्धि छाओस् !

    रामचन्द्र तिम्सिना
    म्यागङ -५ सामरी, नुवाकोट

    सम्बन्धित