सप्तरी, हाल काठमाडौं/
शब्दको सानो संरचनामा सिङ्गो रामायणको विराट संसार
साहित्य केवल पढिने विषय होइन, अनुभूत गरिने संसार पनि हो । कुनै कृति पढ्दै गर्दा त्यसका शब्दहरूले हाम्रो मनमा प्रश्न जन्माउँछन्, सोच्ने दृष्टिकोण बदल्छन् र कहिलेकाहीँ आफैँ केही सिर्जना गर्नसमेत प्रेरित गर्छन् ।त्यही अनुभूति मैले डा. ध्रुवप्रसाद गजुरेलज्यूद्वारा लिखित ‘आगो रामायण’ पढ्ने निधो गरेँ हुँ।

‘आगो रामायण’, ‘आगो महाकाव्य/महाधुनी’ र ‘आगो लघुकविता’का स्रष्टा हुनुहुन्छ डा. ध्रुवप्रसाद गजुरेलज्यू । पछिल्लो समय उहाँलाई ‘आगो ब्रह्मर्षि’ नामले पनि चिनिन्छ।



‘आगो रामायण’ महाकाव्य कृति मेरा प्रिय मित्रले ‘तिम्रो लागि’ भन्दै सुटुक्क उपहार दिनुभएको हो। सुरुमा हेर्दा यो सानो पुस्तक महाकाब्य हुन्छ र ? जस्तो लागेको थियो तर पुस्तक भित्र हेर्दा महाकाव्यकारहरूले अगाल्ने गरेका नियमहरूलाई डा. ध्रुबप्रदाद गजुरेलले पनि अनुसरण गरेको देखियो। मङ्गला चरणबाट लेख्नु सुरु गर्नु भएको छ।
विभिन्न सर्गहरूलाई काण्डको रूपमा लेख्नु भएको छ । ९ काण्ड बनाएर चर्चा गर्नु भएको रहेछ । मुख्य पात्रहरू श्रीराम, सीता, लक्ष्मण, हनुमान लगायतका धेरै पात्रहरू रहेका छन् । सबै गरेर झण्डै २००० बढि श्लोक, सयौं मुक्तकहरू, केही गजलहरू र बाकी आगोको ढाचामा लेखेर ५००० आगोहरू रहेका छन् । उहाँको १५०० गोटा आगो यस अगाडि नै सार्वजनिक भै सकेको र सो क्रममा एउटा कार्यक्रममा उहाँलाई आगो देवर्षि पनि घोषणा गरिएको भन्ने कुरा लेखकको भनाईमा उहाँले उठाउनु भएको रहेछ। रामायण लामो कथा भएको बिराट काव्य पनि हो । गजलको रूपमा गजलागो, मुक्तकको रूपमा मुक्ताआगो, ४ लाइनका श्लोकहरूलाई श्लोकआगो नामाकरण गरिएकोछ।
आगो उप बिधाका प्रवर्तक अर्थात परिकल्पनाकार पूर्व प्रमुख सेनानी दीर्घ बहादुर चन्दका अनुसार महाकाव्य लेख्ने क्रममा डा. ध्रुबप्रसाद गजुरेलले ४ लाइनमा लेख्दै श्लोकआगोको रूपमा अगाडि बढाउनु भएर श्लोकआगो थप गरिएको कुरा उहाँको “शुभकामना आगो वाल्मीकि” पढेर स्पष्ट बुझ्न सकिन्छ। त्यस्तै दामोदर ढकाल दीपकको ” ध्रुब अर्थात नाम जस्तै काम” शिर्षक पढ्दा धरहरा अभियान देखि हाल सम्म ध्रुबले गरेका कामहरूको चर्चा गर्नु भएमो छ उहाँका अनुसार आगो बिधामा नियात्रा लेख्ने पहिलो ब्यक्ति पनि ध्रुबप्रसाद गजुरेल भएको कुरालाई स्पष्ट पार्नु भएको छ ।जसको बारेमा म चर्चा पनि गर्दै जानेछु।
उपहारका रूपमा प्राप्त पुस्तक भएकाले त्यसप्रति मेरो आत्मीयता सुरुदेखि नै थियो ।तर पुस्तक हातमा लिनु र त्यसको अन्तर्यमा प्रवेश गर्नु दुई फरक कुरा हुन् ।पुस्तकले मन जित्न त्यसका पानाभित्रका शब्दहरूले पाठकसँग संवाद गर्न सक्नुपर्छ । त्यही संवादको यात्रामा म पनि बिस्तारै प्रवेश गरेँ।
सुरुवातमा नयाँ विधा भएकाले मनमा केही जिज्ञासा र संकोच थियो। म गजल, कथा र कवितामा रमाउने पाठक हुँ। त्यसैले आगो विधाको संरचना र प्रस्तुतिलाई बुझ्न केही समय लाग्ला भन्ने लागेको थियो तर पढ्दै जाँदा त्यो अपरिचित विधा बिस्तारै आत्मीय बन्दै गयो । जति पानाहरू पल्टाउँदै गएँ, त्यति नै आगो विधाप्रतिको रुचि बढ्दै गयो। छोटा हरफमा प्रस्तुत गरिएका प्रसङ्गहरूले मेरो ध्यान खिच्न थाले कौतुहलता जगाउने यो लेखकको लेखनिय क्षमताको जति तारिफ गरे पनि पुग्दैन। रामयण लामो भएको हुँदा कथा लामो थियो, तर अभिव्यक्तिको ढाँचा छोटो ।यही छोटोपनभित्र कथाको निरन्तरता र भावको विस्तार भित्र म हराउदै जादा नयाँ नयाँ कुरा भेटिनु मेरा लागि रोचक अनुभव बन्यो।
एक बिहान कफी पिउँदै पढ्न सुरु गरेको पुस्तक केही बेरमा नै पढेर सकाएँ । पुस्तक बन्द गरेपछि पनि त्यसका प्रसङ्गहरू मनमा घुमिरहे। रामायणका परिचित पात्रहरू, घटनाक्रम र कथावस्तु नयाँ प्रस्तुतिमा पढ्दा फेरि एकपटक रामायणतर्फ फर्किएजस्तो लाग्यो ।
त्यसपछि मैले पुनः पुस्तकका पानाहरू पल्टाएँ।
यसपटक म केवल पाठक थिइनँ । मनभित्र एउटा नयाँ विचार जन्मिसकेको थियो
‘अब मैले पनि केही लेख्नुपर्छ।’
एउटा कृतिले पाठकलाई पढ्ने आनन्द मात्र दिँदैन, सिर्जनाको चाहना पनि जगाउँछ भने त्यो पाठकीय यात्राको महत्वपूर्ण उपलब्धि हो। ‘आगो रामायण’ले मेरो मनमा त्यही सिर्जनात्मक उत्सुकता जगायो ।
आगो विधासँगको मेरो पहिलो परिचय
कुनै पनि नयाँ विधालाई बुझ्न त्यसको संरचना, सिद्धान्त र प्रयोगबारे जानकारी आवश्यक हुन्छ। ‘आगो रामायण’ पढ्दै जाँदा मैले आगो विधाका विभिन्न रूपबारे पनि जान्ने अवसर पाएँ।
सङ्ग्रहमा दुई हरफमा लेखिने मक्तकलाई ‘मुक्तआगो’, गजललाई ‘गजलागो’ तथा चार हरफमा अनुप्रास मिलाएर लेखिने आगोलाई ‘श्लोआगो’ भनिने कुरा उल्लेख गरिएको छ। जुन कुरालाई मैले माथी पनि उठाएको छु ।
यस विधाको संरचनाभित्र रहेर भाव, कथा र विचारलाई प्रस्तुत गर्नु सर्जकका लागि सिर्जनात्मक चुनौती पनि हो। थोरै शब्दमा अर्थपूर्ण अभिव्यक्ति दिनु सहज काम होइन । अझ रामायणजस्तो विस्तृत कथालाई छोटो संरचनामा समेट्नुका लागि विषयवस्तुको ज्ञान, भाषिक दक्षता र निरन्तर अभ्यास आवश्यक पर्छ । पाठकका रूपमा मैले यही पक्षलाई कृतिको एउटा महत्वपूर्ण विशेषताका रूपमा अनुभूत गरेँ ।पुस्तकभित्र पहिलो शुभकामनामा प्रा. डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ज्यूले कृतिमा शुभकामनासहित आगोहरूबारे प्रस्ट पार्नुभएको छ । त्यसैगरी, प्रा. डा. शैलेन्द्रकुमार नेपालज्यूले आगोलाई सशक्त उपविधाका रूपमा उल्लेख गर्दै यस प्रयोगमा अनेकौँ स्रष्टाहरूले कलम चलाएको कुरा बताउनुभएको छ।
नवोदित आगो कविता ढाँचामा महाकाव्य लेख्न सक्नु लेखकको सिर्जनात्मक क्षमताको परिचायक भएको उहाँको भनाइले पनि कृतिको सिर्जनात्मक महत्वतर्फ ध्यान आकर्षित गर्दछ । त्यस्तै सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल ‘दीपक’ज्यूले रामायणजस्तो लघुकाव्यलाई आगोको ढाँचामा लेख्नु सहज काम नभएको उल्लेख गर्दै लेखकको मेहनत र परिश्रमको प्रशंसा गर्नुभएको छ ।लघुकविता उपविधाका परिकल्पनाकार दीर्घबहादुर चन्द ‘सुमन’ज्यूले आगो लेखनका सम्भावनाबारे प्रकाश पार्दै लेखन सिक्दै गरेका सर्जकहरूका लागि पनि यस विधाको उपयोगिताबारे उल्लेख गर्नुभएको छ।
यी हरफहरू पढ्दा कथाभित्रका प्रसङ्गलाई छोटो ढाँचामा समेट्ने प्रयास देखिन्छ। आगो विधालाई बुझ्दै जाने क्रममा यस्ता रचनाहरूले मलाई थप जिज्ञासु बनाउँदै लगे। कृतिभित्र भेटिएका केही मनपरेका आगोहरू पाठकका रूपमा मलाई मन परेका केही आगोहरू यहाँ प्रस्तुत गरेकी छु। यी चयनहरू मेरो व्यक्तिगत पाठकीय रुचिमा आधारित छन्।
बाल काण्डमा (कलीका कुराको सिलसिलामा पेज नं.२)
पैसा कमाऊ
मस्त रमाऊ
वेद बेचेर
हिंसा गरेर ।
पति, ससरा
दुष्ट झैँ कुरा
कुरा नराम्रा
गर्दछन् हाम्रा
परस्त्री खोज्ने
पापी छ लोग्ने
पैसाको लागि
जे पनि गर्ने
अयोध्या काण्ड (कैकेयीले दशरथसंग वर माग्दै पेज नं. २०)
याद गराऊँ
कुरा सुनाऊँ
चुकुल हात
हुँदाका बात ।
बाँकी छ वर
माग्दै छु तर
दिने कसम
मान्नु खसम ।
भरत राजा
बिष छ खाजा
मर्छु म भन्दै
दलिन गन्दै ।
अरण्य काण्ड (सीताजी हर्ने सिलसिलामा पेज नं. ३०)
सीताजी हर्ने
योजना गर्ने
भयो तयारी
वन छहारी ।
सहज छैन
म मृग बन्न
हाने रामले
ढाले बाणले ।
किष्किन्धा काण्ड ( राम नाम जसले भजे पनि पार तर्ने छ भन्ने सिलसिलामा पेज नं. ३५)
राम नामले
तर्छ कामले
जात भनेर
हुन्न कुदेर ।
भक्ति गरेमा
पाउ परेमा
पार तरिन्छ
यस्तै गरिन्छ
त्यस्तै: सुग्रीव भेट्ने सिलसिलामा
शीतल पार्दै
पार्दछु खार्दै
सुग्रीव भेट्ने
तनाव मेट्ने ।
सुन्दर काण्ड (हनुमान लङ्का जाने तरखरमा पेज नं. ४४)
जान्छु सहजै
लङ्का म आजै
रावणलाई
हान्छु समाई ।
सब वानर
भोक नमार
पर्खेर बसे
वनमा पसे ।
शिवको अंश
छ देव हंस
क्षार समुन्द्र
ती काल रूद्र ।
युद्ध काण्ड (हनुमानले लङ्का जलाएको प्रसंगमा पेज नं. ५३)
आगो लगाए
लङ्का जलाए
बालेर आज
वनाए खाग
हनुमानले
ठूलो कामले
काख पो पाए
सारा रमाए ।
रावणको मृत्यु हुँदाको सिलसिलामा पेज नं. ७८
श्री राम भन्दै
बेहोश बन्दै
रामको नाम
लिन्छ रावण ।
ढल्यो भूमिमा
यश जूनीमा
जय श्री राम
उत्तम काम ।
रावण मर्दा
भूमिमा पर्दा
देवता तर्फ
उमंग हर्ष ।
भूभार हर्दा
रावण मर्दा
उल्लास छायो
मुक्ति गरायो ।
यस्तै खाले कौतुहलता जगाउने खालका आगोहरूको माला उनेर यो रामायण तयार पारिएको छ ।
भक्ति गरेमा
पाउ परेमा
पार तरिन्छ
यस्तै गरिन्छ।
इन्द्रजीतले
भन्यो बेगले
भाग्यमानी हुँ
म त बाँधिनु।
रावण यस्तो
वानर कस्तो
सीताजी देख्यो
आएर भेट्यो।
अश्वमेध काण्ड
सोचे रामले
बुझे कामले
ब्राह्मण हत्या
जान्न दामले ।
सबै जितेर
लिन्छु मिचेर
बलियो राज्य
हुन्छ सम्राज्य
यी आगोहरू पढ्दै गर्दा पात्र र घटनाक्रमप्रतिको जिज्ञासा बढ्दै जान्छ । छोटो संरचनाभित्र कथा प्रस्तुत गर्ने प्रयासले पाठकलाई अगाडिका पानातर्फ डोर्याउँछ।
रामायणको कथासँग पहिले नै परिचित पाठकका लागि घटनाहरू पहिचान गर्न सहज हुन सक्छ भने नयाँ पाठकका लागि यसले मूल कथाबारे थप जान्ने रुचि जगाउन सक्छ।
आगो लेखन : मेहनत, साधना र सिर्जनात्मक चुनौती
पुस्तक पढ्दै जाँदा मेरो मनमा बारम्बार एउटा प्रश्न उठिरह्यो—
‘यति धेरै आगो लेख्न लेखकलाई कति समय लाग्यो होला?’
अर्को प्रश्न पनि थियो—
‘कथाको मूल भाव नबिगारी यति छोटो संरचनामा कसरी लेख्न सकिन्छ होला?’
पाठकका रूपमा हामी प्रायः तयार भएको पुस्तक पढ्छौँ। तर त्यस पुस्तकको पछाडि रहेको अध्ययन, अभ्यास, संशोधन र सिर्जनात्मक परिश्रमबारे धेरैपटक सोच्दैनौँ।
‘आगो रामायण’ पढ्दै जाँदा भने मैले लेखन प्रक्रियाबारे सोच्न थालेँ। ५००० भन्दा बढी आगोहरू समेटिएको यस कृतिको निर्माणमा निरन्तरता, धैर्य र अभ्यास आवश्यक परेको हुनुपर्छ भन्ने अनुभूति भयो।
कुनै पनि विधामा लेखन केवल भावनाले मात्र पूरा हुँदैन। विधाको संरचना बुझ्नु, विषयवस्तुमा पकड राख्नु, शब्द छनोट गर्नु र अभिव्यक्तिलाई सन्तुलित बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ।
आगो विधाको ५ अक्षरको सीमित अक्षरभित्र भाव र अर्थलाई समेट्नुपर्ने भएकाले शब्दप्रतिको सजगता अझ महत्वपूर्ण हुन सक्छ।
यस कृतिले मलाई एउटा कुरा सिकायो— सिर्जना छोटो वा लामो हुनु मात्र महत्वपूर्ण होइन, त्यसको संरचना र प्रस्तुतिमा रहेको श्रम पनि महत्वपूर्ण हुन्छ । युद्धकाण्ड र कथाको भावनात्मक विस्तार रामायणका युद्धसम्बन्धी प्रसङ्गहरू पनि कृतिमा आगोको संरचनामा समेटिएका छन् । युद्ध, पात्रहरूको संघर्ष र घटनाक्रमका विभिन्न पढ्दै जाँदा कथाको गम्भीरता अनुभूत हुन्छ । रामको घोडा समातेपछि लवले भने ।
लव कुश काण्ड
युद्ध लडेर
लानु थुतेर
भने लवले
सुने सबले ।
घायल सुत्र
पवन पुत्र
लाज पो भयो
इज्जत गयो
यी आगोहरू कथाका घटनाक्रमसँग जोडिएका छन् । रामायणमा युद्ध केवल बाह्य संघर्षको विषय होइन; यसभित्र सम्बन्ध, कर्तव्य, पीडा र परिणामका अनेकौँ तहहरू छन्।
आगोको छोटो संरचनामा ती सबै तहलाई विस्तृत रूपमा प्रस्तुत गर्न सम्भव नहुन सक्छ तर घटनाको सङ्केतमार्फत पाठकलाई मूल कथातर्फ फर्काउने काम भने हुन सक्छ ।जुन कुरामा लेखक सफल भएको देख्न सकिन्छ।
कृतिलाई त्यसै दृष्टिले पढ्दा यसले रामायणका विभिन्न प्रसङ्गलाई नयाँ ढाँचामा सम्झिने अवसर दिन्छ ।
पाठकको मनमा उठेका प्रश्नहरू
‘आगो रामायण’ पढ्दै गर्दा मैले धेरै कुरा जान्ने अवसर पाएँ। तर त्यससँगै केही प्रश्नहरू पनि मनमा जन्मिए।
नयाँ विधाको विकास कसरी हुँदै जान्छ? कुनै विधा पाठकसम्म पुग्न कस्तो यात्रा पार गर्छ ? कुन बिधाले बढि लोकप्रियता प्राप्त गर्दछ। त्यसमा सर्जकहरूको भूमिका कस्तो हुन्छ? अनि पाठकहरूले त्यसलाई कसरी ग्रहण गर्छन?
यी प्रश्नहरूको पूर्ण उत्तर एउटै पुस्तकबाट प्राप्त नहुन सक्छ। तर एउटा कृतिले यस्ता प्रश्नहरू जन्माउनु पनि पाठकीय अनुभवको महत्वपूर्ण पक्ष हो।
‘आगो रामायण’ले मलाई आगो विधाबारे थप बुझ्न प्रेरित गर्यो। आगो लेखनका विभिन्न रूप, त्यसको संरचना र प्रयोगबारे जानकारी प्राप्त गरेपछि मैले यस विधालाई पहिलेभन्दा फरक दृष्टिले हेर्न थालेँ।
पहिलोपटक अपरिचित लागेको विधा दोस्रोपटक पढ्दा अभ्यास र सिर्जनाको सम्भावनासँग जोडिन पुग्यो।
सन्दर्भसामग्री र अध्ययनको पक्ष
कृतिमा सन्दर्भसामग्रीहरू पनि समेटिएका छन् ।वाल्मीकि रामायण, तुलसीकृत रामायण तथा दीर्घबहादुर चन्दको आगो सिद्धान्त र प्रयोगलाई आधार बनाइएको जानकारी प्राप्त हुन्छ ।
यसले कृतिको पृष्ठभूमि बुझ्न सहयोग गर्छ ।कुनै पनि साहित्यिक कृति तयार पार्दा विषयवस्तुको अध्ययन र सन्दर्भसामग्रीको भूमिका महत्वपूर्ण हुन्छ ।
रामायण जस्तो विशाल कथालाई नयाँ विधामा रूपान्तरण गर्दा मूल कथासँग सम्बन्धित अध्ययन आवश्यक पर्न सक्छ ।यस कृतिमा सन्दर्भसामग्री समेटिनुले लेखकले आफ्नो सिर्जनाका लागि अध्ययनलाई महत्व दिनुभएको देखाउँछ ।भानुभक्त रामायणमा नभएका कुराहरू पनि लेखकले उठाउनु भएको हुनाले विभिन्न रामायणहरूको अध्ययन गरेको भन्ने कुराको स्पष्ट बुझ्न पनि सकिन्छ । राम र सीताको सल्लाह अनुसार सीता हरण हुनु पूर्व नै छाँया सीताको उत्पत्ति हुनु ।रावणले शिव धनु उचाल्न नसक्नुको कारण कैलाशमा गएर शिवजी संग झगडा गर्दा शिवजीले निमन्त्रणा नगरेको ठाउमा जानु, पंचकन्या मध्येकी एक मन्दोदरी भन्दा राम्री सीतालाई सोचेर मिथिला जानु । न्याए र सत्यको पक्षमा नरहेको कारणले शिव धनु उचाल्न असफल भएको कुरा सम्झाउनु भएको छ यो कथा पढ्दा ज्ञानगुनका कुरा मात्र नभएर दार्शनिक कुराहरू बुझ्नलाई सहज बनाएको छ अघिल्लो जन्ममा रावण कुन रूपमा थियो ? के र कसको श्रापको कारणले रावण भएर जन्मन परो ? मुक्ति कसरी दिलाउने भन्ने कुराहरूले कथालाई पढौँ पढौँ लाग्ने बनाएको छ।
सुँगा र सीताको कथाले पनि धेरै सन्देशहरू दिएका छन् ।लव कुश काण्डले रामको घोडा समातेर युद्ध लढेर राम पक्षका सबलाई हराएर हनुमान लगायतका वीरहरूलाई सीता सामु लगेर श्री रामभक्त वीर हनुमानलाई लज्जित बनाएको छ।
रामायण भित्र नै रामगीताको बर्णन गर्दै महाभारतमा अर्जुन र कृष्णको संवादको झल्को दिन सफल भएको छ यो आगो रामायण ।कथाका प्रसङ्गहरू हेर्दा पढ्ने क्रममा म सागर भित्र हराए झै लाग्यो ।यो कारणले यस्तो हुन गएको हो ।त्यो कारणले यसो भन्दै एक कथालाई पुर्व जन्मका कथाहरूसंग जोड्दै प्रसङ्ग मिलाएर यसरी प्रस्तुत गर्न सक्नु कुनै चानचुने कुरा पनि होइन ।पढ्दैजादा मर्यादा, आदर्श, जीवन र जगतका धेरै कुराहरू भेटे मैले यस पुस्तकभित्र ।
यसले पुस्तकलाई केवल आगोहरूको सङ्ग्रहका रूपमा मात्र नभई एउटा अध्ययन र सिर्जनाको परिणामका रूपमा बुझ्न सहयोग पुर्यायो।
समापनका केही आगोहरू
कृतिको अन्त्यतर्फ आइपुग्दा पनि आगोहरूको संरचना र कथाको क्रम जारी रहन्छ। अन्त्यमा प्रस्तुत गरिएको आगोमध्ये मलाई मन परेको एउटा रचना यहाँ राखेकी छु।
आदर्श कस्तो
हुनेछ यस्तो
भक्त बनेर
दिन गनेर।
त्यसैगरी,
सम्पूर्ण खण्ड
छन् है अखण्ड
केही पढेर
लेखे भनेर।
हुनेछ काम
पूर्ण तमाम
जसले भज्यो
जय श्रीराम।
यी गजलागो, मुक्तागो, श्लोकागो र आगोहरू पढ्दा कृतिको समापनतर्फ आइपुगेको अनुभूति हुन्छ। सुरुदेखि अन्त्यसम्म विभिन्न काण्ड र प्रसङ्गलाई समेट्दै पुस्तकले आफ्नो यात्रा पूरा गरेको छ।
कृतिको अन्त्यमा आइपुग्दा सुरुवातमा रहेको मेरो जिज्ञासा पनि धेरै हदसम्म मेटिएको थियो ।आगो विधाबारे जान्ने अवसर पाएँ र त्यसको अभ्यासतर्फ रुचि जाग्यो।
पुस्तकको बाहिरी सौन्दर्य
कुनै पनि पुस्तकको मुख्य शक्ति त्यसको विषयवस्तु र लेखन हो । त्यससँगै पुस्तकको आवरणले पाठकको पहिलो ध्यान खिच्ने काम पनि गर्छ ।
‘आगो रामायण’को आवरण टपिन्द्र के.सी. सरले तयार पार्नुभएको रहेछ। आवरणले पुस्तकको बाहिरी परिचय प्रस्तुत गर्छ।
कृतिको मूल्य रु. ३०० रहेको छ। पुस्तकलाई पाठकसमक्ष पुर्याउन लेखनसँगै सम्पादन, प्रकाशन र प्रस्तुतीकरणका पक्षहरू पनि जोडिएका हुन्छन् ।
निष्कर्ष : एउटा पुस्तक, धेरै पाठकीय अनुभूति
‘आगो रामायण’ पढिसकेपछि मेरो मनमा सबैभन्दा गहिरो रूपमा बसेको कुरा हो— एउटा नयाँ विधासँग परिचित हुने अवसर, रामायणको अध्ययन, आदर्श र घमण्डले कति सम्म नोक्सान गर्दो रहेछ र सत्मार्गले कसरी गन्तब्यमा पुराउदो रहेछ भन्ने कुरा राम्रोसंग बुझ्ने अवसर मिल्यो । सुरुमा अपरिचित लागेको विधा पढ्दै जाँदा आत्मीय बन्दै गयो । पुस्तक सकिएपछि फेरि पढ्न मन लाग्यो र दोस्रोपटक पढ्दा आफैँ केही लेख्ने चाहना जागेर आयो ।मेरा लागि यो पुस्तक पढ्नु केवल रामायणको कथा पढ्नु मात्र रहेनछ। यसले आगो विधाबारे जान्ने, त्यसको संरचना बुझ्ने र लेखनप्रतिको रुचि बढाउने अवसर पनि दियो एउटा पाठकले कृतिबाट ज्ञान प्राप्त गर्छ, नयाँ कुरा सिक्छ र सिर्जनातर्फ प्रेरित हुन्छ भने त्यो अनुभव उसका लागि मूल्यवान् हुन्छ।
पुस्तकभित्र मिठा मिठा गजललको रूपमा गजलागोहरू पनि रहेका छन्
बात गरौंला
पाउ परौंला
जान्न म लङ्का
यतै झरौंला
राम भजेर
नाम जपेर
तर्छ ध्यानले
गयो मरेर
त्यस्तै मुक्तकको रूपमा विभिन्न स्वादका मुक्तागोहरू प्रसस्त पढ्न पाइन्छ।
रावण सुन्छ
मनले गुन्छ
मरण मेरो
सहज हुन्छ ।
काम हुनाले
तान्यो मुनाले
बिर्सियो सारा
सुरा छुनाले
गयो फर्केर
हिड्यो तर्केर
देवता साथ
बोल्छ झर्केर
एउटा पाठकले कृतिबाट ज्ञान प्राप्त गर्छ, नयाँ कुरा सिक्छ र सिर्जनातर्फ प्रेरित हुन्छ भने त्यो अनुभव उसका लागि मूल्यवान् हुन्छ। यद्यपि कुनै पनि कृतिको मूल्याङ्कन पाठक अनुसार फरक हुन सक्छ । कसैलाई यसको विधागत प्रयोग रुचिकर लाग्न सक्छ, कसैलाई कथाको प्रस्तुति महत्वपूर्ण लाग्न सक्छ भने कसैले आगो लेखनको संरचना र सम्भावनातर्फ ध्यान दिन सक्छ ।पाठकीय अनुभूति सबैको एउटै हुँदैन । मेरो अनुभव भने यस कृतिसँग जोडिएको जिज्ञासा, रुचि र सिकाइमा आधारित छ।
उपसंहार
साहित्यको यात्रा निरन्तर चलिरहने यात्रा हो ।नयाँ विधाहरूको विकास, प्रयोग र पाठकसँगको सम्बन्धले साहित्यलाई थप फराकिलो बनाउँदै लैजान सक्छ।
‘आगो रामायण’ मार्फत डा. ध्रुवप्रसाद गजुरेलज्यूले रामायणको विशाल कथालाई आगोको संरचनामा प्रस्तुत गर्नुभएको छ। यस कृतिले मलाई एउटा नयाँ विधासँग परिचित गराएको छ र लेखनप्रति थप उत्सुक बनाएको छ ।म पाठक भएर पढ्दापढ्दै आगो लेखनलाई बुझ्ने र त्यसबारे अरूलाई बताउन सक्ने अवस्थामा पुग्नुको साथै रामायणका धेरै कुराहरू बुझ्न सक्ने भएँ ।यो मेरो व्यक्तिगत पाठकीय उपलब्धि हो ।
अन्त्यमा, डा. ध्रुवप्रसाद गजुरेलज्यूलाई ‘आगो रामायण’ जस्तो महाकाव्य तयार पार्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु आगामी दिनमा उहाँका अझ धेरै सिर्जनाहरू पाठकसमक्ष आइरहून् ।गजल, कविता, मुक्तक बिधामा कलाम चलाउने धरहरा अभियन्ता, युग मानव डा. ध्रुबप्रसाद गजुरेल जे कुरा पनि नयाँ नयाँ गर्न रुचाउने हुनाले नेपालमा घोषणा भएका सयौँ उपबिधाहरूमा पहिलो महाकाव्य आगो रामायण महाकाव्य प्रकाशन गरेर उप बिधाहरूको पहिलो महाकाव्य र आफुलाई पहिलो महाकाव्यकार बनाएर एउटा इतिहास समेत निर्माण गरिदिनु भएको छ। उप विधाको अध्ययन, प्रयोग र विकासमा निरन्तरता रहोस् ।
फेरि निकट भविष्यमा कुनै नयाँ कृति हातमा लिएर त्यसको संसारभित्र प्रवेश गर्ने अवसर मलाई मिलोस् भन्दै साहित्यप्रतिको उहाँको साधना निरन्तर अगाडि बढिरहोस्।
हार्दिक शुभकामना!
— रोमा लम्साल ‘नुरा’
सप्तरी, हाल काठमाडौं
