
नुवाकोट /
जिल्लामा बागमती प्रदेश सरकारको सहयोगमा ‘बागमती प्रदेश मुख्यमन्त्री कप २०८२’ अन्तर्गतको राष्ट्रिय महिला फुटबल तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आगामी वैशाख १३ गतेदेखि नुवाकोटमा आयोजना हुने भएको छ।
प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढिरहेको र वैशाख १० गतेसम्ममा सकिने जिल्ला खेलकुद विकास समिति, नुवाकोटका अध्यक्ष विजय गुरुङले जानकारी दिए।
नुवाकोटलाई राष्ट्रिय खेलकुदको हबको रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। यसअघि नै जिल्लामा राष्ट्रिय स्तरको खेल मैदान तयार भएकाले प्रतियोगिता सफल हुने विश्वास पनि उनले व्यक्त गरे।
राष्ट्रिय महिला फुटबल प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदान, बट्टारमा वैशाख १३ देखि २० गतेसम्म हुनेछ। फुटबलमा नेपाल पुलिस, नेपाली सेना, एपीएफलगायत आठ वटा राष्ट्रियस्तरका टिम सहभागी हुनेछन्।
एन्फासँग समन्वय गरेर हालसम्म सात टिमको टुङ्गो लागिसकेको र बाँकी एक टिम पनि एक–दुई दिनभित्रै टुङ्गो लाग्ने गुरुङले जानकारी दिए।
त्यसैगरी, राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि नुवाकोटमानै वैशाख १३ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। जिल्ला ब्याडमिन्टन संघ नुवाकोटका अनुसार प्रतियोगितामा करिब ४०० खेलाडी सहभागी हुनेछन्।
पत्रकार सम्मेलनमा अध्यक्ष विजय गुरुङसँगै नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देव चित्रकार, सुभाष श्रेष्ठ, राजु थापा, राजेन्द्र खतिवडा, नुवाकोट जिल्ला ब्याडमिन्टन संघका चन्दन घले र राजेन्द्र ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो। उनीहरूले प्रतियोगिता सभ्य र भव्य बनाउन पत्रकार र सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको बताउँदै सहयोगको अनुरोध गरेका छन्।
थप जानकारी तथा टिम दर्ताका लागि जिल्ला खेलकुद विकास समिति, नुवाकोट (फोनः ०१०-५६०२८७) तथा मोबाइल नम्बरहरू ९८४१६७१८३३, ९८५११६०१५१ र ९८५११९१४७५ मा सम्पर्क गर्न सकिनेछ।