काठमाडौ /
आगामी वर्ष हुने एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा प्रधानमन्त्री केपी ओलीले गरेका छन्।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकिएको बताए।
‘५० प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो। यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ। अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’
उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट पारे। उनले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे। उनले भने, ‘अब तपाईंहरू संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ। तपाईंहरूका लागि संसार खुल्ला छ। तपाईंहरूले अभिभावकको लगानी र स्नेहको प्रतिफलका रूपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।’