नुवाकोट /
शिक्षा तथा खेलकुद शाखा,म्यागङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि गरिएको नमूना माध्यमिक विद्यालय अध्ययन अवलोकन शैक्षिक भ्रमण सम्पन्न भएको छ। यही मङ्सिर २७ गतेबाट शुरु भएको उक्त भ्रमण पौष २ गते सम्पन्न भएको हो।

भ्रमण,तनहुँ जिल्लाको सरस्वती नमूना मा.वि.बाट शुरु भई स्याङ्जा जिल्लाको त्रिभुवन आदर्श नमूना मा.वि.,रुपन्देही स्थित बुटवलको कालिका मानवज्ञान मा.वि.हुदै चितवान जिल्लाको नारायणी मा.वि.मा आएर सम्पन्न भएको थियो।विद्यालयको शैक्षिक गुणस्तर,आर्थिक पक्ष,भौतिक पक्ष लगायत अन्य विशिष्ट कार्यकलापको बारेमा एथेष्ट जानकारी ग्रहण गरी त्यसलाई विद्यालयमा फर्केर अनुसरण गर्दै नविनतम् जोस जाँगर ,सोच विचार,प्रवृति तथा विद्यालय सञ्चालन प्रक्रियामा जोड दिई विद्यालय शिक्षालाई सुधार गर्ने लक्ष्य,भ्रमणमा सहभागी प्रधानाध्यापकहरुको सामुहिक प्रतिवद्दता रहेको छ।

भ्रमणको अन्तिम दिन सम्पूर्ण प्रतिवेदन प्रस्तुतिका साथ समिक्षा गर्दै विद्यालय फर्केपछि समग्र म्यागङको आमूल परिवर्तनको लागि शिक्षा क्षेत्रमा सुधार गरिनु पर्ने विषयवस्तु माथि वृहत छलफल गर्दै भ्रमणमा सहभागी प्रधानाध्यापक, गाउँपालिका शिक्षा शाखा तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सामुहिक प्रतिबद्दता समेत जारी गरिएको छ। जसले गर्दा यस भ्रमण अत्यन्तै उपलब्धिमूलक,फलदायी र प्ररणाको स्रोतको रुपमा ग्रहण गर्दै समृध्द म्यागङ र सुखी म्यागङबासीको नारालाई स्थापित गर्न गहन भूमिका रहने विश्वास लिएको छ।

भ्रमणमा म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ,उपाध्यक्ष सीता वाईबा,म्यागङ शिक्षा शाखा प्रमुख शेर सिंह रावत,म्यागङ वडा नं. २ का वडाध्यक्ष सन्दवीर तामाङ,शिक्षा शाखा प्रा.स.सन्तुमाया तामाङ लगायत १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागी रहेको थियो ।

भ्रमणको समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै गाउँपालिका अध्यक्ष आशा तामाङ र उपाध्यक्ष सीता वाईबाले यसअघि बजेट निर्माणमा जे जे भए पनि आगामि आर्थिक बर्षदेखि गाँउपालिकाको बजेट तयार गरिदा शिक्षाको लागि न्यूनतम् २०% बजेट छुट्याउने प्रतिबद्दता लिखित रुपमै गर्नुभएको छ ।विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दि,विद्यालयको आर्थिक तथा भौतिक पक्षलाई समेत मजबुत बनाउन गाउँपालिकाले कुनै कसुर बाँकी नराखिने प्रतिबद्दता सहित प्रधानाध्यापकहरुले पनि भ्रमणबाट सिकेका ज्ञान,सीप तथा अनुभूतिलाई विद्यालयमा तुरुन्तै लागु गरी कार्यान्वयनमा ल्याईने छ भनी सामुहिक रुपमा लिखित प्रतिबद्दता समेत जाहेर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय