पातलो प्लास्टिकको झोला प्रतिबन्ध: उलंघन गरे १ लाखसम्म जरिवाना

समाचार

नुवाकोट /
नेपाल सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

विभागले प्लास्टिकका झोला प्रतिबन्ध नीति तथा निर्णय आगामी दिन थप कडाइसाथ लागू गर्ने तयारीसमेत गरेको छ ।यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोग अवस्थाबारे अनुगमन र उल्लंघन भएको पाइए कारबाही गर्ने विभागको भनाइ छ ।

१ भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने जनाइएको छ ।सरकारले यसअघि १९ असोज २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो ।

यसलाई प्रभावकारी कार्यान्वयनका लागि गत माघमा मन्त्रिपरिषद्ले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत गरिसकेको छ। तर, कोरोना महामारीका कारण पर्याप्त अुनगमन नहुँदा सरकार कारबाहीमा उत्रिएको थिएन ।

सरकारले आर्थिक वर्ष २०७८/७९ बजेटमार्फत नै ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। सर्वोच्च अदालतले २८ साउन २०७८ मा सरकारले घोषणा गरेको प्रतिबन्ध प्रभावकारी पालना गराउन कार्यान्वयन योग्य कार्ययोजना तयार गरी प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा देशभर प्रतिबन्ध लागू गर्न आदेश दिएको थियो ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *