नुवाकोट /
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ।

आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढीको छ। चालू आव २०७८।७९ मा प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो।

आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख र पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ। वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको मन्त्री जम्मकट्टेलले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत र पुँजीगततर्फ ५८ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले संघीय सरकारबाट कुल बजेटको २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ स्रोत जुटाउने जनाएको छ।

कर राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ तथा अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ स्रोत जुटाउने मन्त्री जम्मकट्टेलले बताए। चालू आर्थिक वर्षको अनुमानित सञ्चित बचत कोष र अन्य प्राप्तिबाट १६ अर्ब ६७ करोड ५० लाख बेहोरिने बताइएको छ।

प्रदेश सरकारले पुराना अधिकांश योजनालाई निरन्तरता दिने घोषणा गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई जोड दिँदै बजेट विनियोजन गरेको छ। सरकारले सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई २४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री जम्मकट्टेलले वनजंगल विस्तार, सिमसार क्षेत्रको संरक्षणमा उक्त बजेट कार्यान्वयन गरिने बताए। उनले प्रदेशका नांगा डाँडामा एक वर्षभित्र १५ हजार बिरुवा रोप्ने बताए।

उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ, एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x