सिन्धुपाल्चोक /
जिल्लाको जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ। प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् ।

जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली डाँडामा ५ फिटको बुद्धमूर्तीसहित अन्य परम्परागत संरचना ठड्याइएको थियो ।‘यहाँको झण्डै ६ रोपनी जग्गामा केही ठूला र साना गरी ६ वटा बुद्ध र अन्य बौद्ध धर्मसँग सम्बन्धित देवीदेवताका मूर्ति थिए, अन्य परम्परागत संरचना पनि टुक्राटुक्रा पारेर फुटाइएछ, यो घटनाले साह्रै चित्त दुखेको छ, ’ लामाले दुखेसो गरे ।स्थानीय तह आएलगत्तै आफ्नो अगुवाइमा सुरु गरिएको योजना भत्काइएपछि तत्कालै सुरक्षाकर्मीलाई सूचना दिइसकेको उनले उल्लेख गरे ।

जिल्लाको सदरमुकाम चौताराबाट करिब ३० किलोमिटरको दूरीमा रहेको दुर्गम याङलाकोटसम्म कच्ची सडक जोडिएको छ ।याङ्लाकोट गाउँपालिका क्षेत्रमा पुगेर तोडफोड घटनाबारे तीव्र अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।‘शान्तिदूत बुद्धको मूर्ति यसरी तोडिनु पूरै दुखद भयो । यसबारे स्थलगत रुपमा गहिरो अनुसन्धान सुरु गरेका छौं ।स्थानीय र शंकास्पद व्यक्तिलाई आवश्यक सोधपुछ चलिरहेको छ,’ एसपी अधिकारीले भने ।

बुद्धको मूर्ति तोडफोड हुनु बौद्ध धर्मकै अपमान भएको भन्दै तामाङ घेदुङ, बौद्ध संघ र समस्त सिन्धुबासीले नै सामाजिक सञ्जालमा आपत्ति जनाएका छन् ।नेपाल तामाङ घेदुङका जुगल अध्यक्ष फुलकाजी स्याङ्बोले यसले धार्मिक सहिष्णुतामाथि चोट पुगेको र यसले सिंगो देशलाई दु:खी बनाएको बताए। ‘विवाद या द्वन्द्व हुनु छलफलको विषय भयो ।तर, यसकै नाममा कुनैपनि धार्मिक मनलाई चोट पुग्ने काम गर्नुहुन्न, अझै हाम्रो गौरव विभूति बुद्धको मूर्ति तोडिनु झनै भयानक काम हो,’ उनले भने ।

स्थानीयका अनुसार रातारात मूर्ति तोडेर ढालिएको संरचनाको हेर्दा हतारमै घन, गलजस्ता सामाग्री प्रयोग गरिएको देखिन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय