नुवाकोट /
त्रिशूली जिल्ला अस्पतालमा रहेको फार्मेसी रित्तिन थालेको छ ।कतिपय औषधि अस्पतालको फार्मेसीमा नभएपछि सेवाग्राही निजीबाट महँगोमा औषधि किन्न बाध्य भएका छन् ।स्वास्थ्य बिमा बोर्डबाट बिमा दाबी भुक्तानीबापतको रकम नआएपछि यस्तो भएको हो।

सरकारले नुवाकोटमा स्वास्थ्य बिमा योजना लागू गरेको छ ।स्वास्थ्य बिमा गरेकाले औषधि उपचारको रकम स्वास्थ्य बिमा बोर्डबाट समयमै प्राप्त नहुँदा समस्या भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताए ।‘पटक–पटक ताकेता गरेका छौँ ।तर, बिमा दाबी रकम समयमा उपलब्ध नहुँदा थप औषधि खरिद गर्न सकिएको छैन,’ उनले भने ।

जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दो छ ।बिमा बोर्डबाट उपचारका लागि नुवाकोटमा चारवटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् ।तर, विशेषज्ञ सेवा पाइने भएकाले प्रायः बिमा गरेका सेवाग्राही त्रिशूली अस्पतालमा आउने भएकाले त्रिशूली अस्पतालमा उपचारको दाबी भुक्तानी धेरै भएको हो ।

अस्पतालमा चालू आर्थिक वर्षको साउनयताको मात्र स्वास्थ्य उपचार दाबी भुक्तानीबापत ८० लाख रुपैयाँभन्दा बढी बोर्डबाट भुक्तानी हुन बाँकी छ ।औषधि सुलभ मूल्यमा बिक्री गर्ने र सोही पैसाबाट अस्पतालले आवश्यक औषधि खरिद गर्दै आएको छ ।स्वास्थ्य बिमा बोर्डबाट समयमा रकम नआउने भएकाले औषधि खरिदमा समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताए ।

बिमाको धेरै रकम रोकिँदा प्रयोगशालाको सामग्री खरिदमा पनि समस्या भएको छ । बिरामीको उपचारमा खटिने चिकित्सकलाई इन्सेन्टिभसमेत दिन नसकेको बिमा कार्यक्रम हेर्दै आएका सूचना प्रविधि अधिकृत वसन्त पुडासैनीले बताए ।बिमितले उपचार गरेपछि बिमा दाबीका लागि आवश्यक कागजात नदिएकाले केही समस्या भइरहेको उनले बताए ।अस्पतालमा दैनिक एक सयजनाभन्दा बढी बिमा गरिएका उपचारका लागि आउने गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय