• कार्तिक ८, २०८३ शनिबार
    24 Oct, 2026, Saturday

    रोजगारी दिने दलका घोषणापत्र थन्किए: ४ महिनामा २ लाख ६४ हजार नेपाली बिदेशिए


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    नुवाकोट /
    भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उम्मेदवारहरुले स्वदेशमा रोजगारी सिर्जना गर्ने विषयलाई प्रमुख रूपमा उठाए तर निर्वाचनपछि उक्त विषयले प्राथमिकता नपाउँदा वैदेशिक रोजगारमा जानेको संस्था ह्वात्तै बढेको छ।

    वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा मात्रै २ लाख ६४ हजार नेपाली रोजगारीका लागि विदेश पुगेका छन्।

    देशमा रोजगारीको अवसर नपाएर उनीहरू विदेशिएका हुन्। गत आर्थिक वर्षको सोही अवधिमा १ लाख ५७ हजार नेपाली रोजगारीका लागि विदेशिएका थिए। यसरी हेर्दा रोजगारीको खोजीमा विदेशिनेको संख्या दोब्बर भएको छ। सरकार र राजनीतिक दलले भने महत्त्वाकांक्षी योजना सुनाउन छोडेका छैनन्।

    राजनीतिक दलहरूले स्वदेशमा रोजगारी उपलब्ध गराइने बताए पनि तत्कालै स्वदेशमा रोजगारी दिन सक्न अवस्था नरहेको वैदेशिक रोजगार विज्ञहरू बताउँछन्। बेरोजगारीको संख्या धेरै छ। तत्कालै स्वदेशमा रोजगारी दिनसक्ने अवस्था नरहेको वैदेशिक रोजगारविज्ञ सोम लुइँटेल बताउँछन्। राजनीतिक दलले स्वदेशमा रोजगारी उत्पादन गर्ने विषयलाई आफ्नो चुनावी मसलाको रूपमा प्रयोग गरेको उनको तर्क छ।

    यसरी दिनानुदिन बेरोजगारी बढ्दो छ। सरकार तथा दलहरूले भने रोजगारीको विषयलाई आफ्नो चुनावी घोषणापत्रका रूपमा मात्र हेर्न थालेको विज्ञ लुइँटेल बताउँछन्। नेपालको श्रम बजारमा प्रत्येक वर्ष ५ लाखको हाराहारीमा नयाँ जनशक्ति आउने गरेका छन्। उनीहरूलाई रोजगारी दिन सक्ने क्षमता सरकारी र निजी कुनै पनि क्षेत्रमा छैन।

    नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका मुख्य राजनीतिक दलहरूले स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रतिबद्धता अर्थात् घोषणा गरे। देशमा बेरोजगारीको संख्या बढ्दो छ।

    जसका कारण दलहरूले आफ्नो घोषणापत्रमा स्वदेशमै रोजगारी उपलब्ध गराउने उल्लेख गर्दैमा वा सरकारले बजेटमार्फत उनीहरूलाई निर्वाह भत्ता दिने निर्णय गर्दैमा ती वर्षेनि श्रम बजारमा आउने बेरोजगार युवाले रोजगारी पाउँछन् भन्न सकिँदैन।

    मिल्दो जुल्दो खबर