• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    तिहारको मुख्य दिन आज, भाईटिका लगाएर मनाईदै


    २०७८ कार्तिक २०, शनिबार

    २०७८ कार्तिक २०, शनिबार

    नुवाकोट।
    हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन् ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

    भाइटिकाको उत्तम साइत ११ः०२ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।दाजुभाइको पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहिआएको छ ।

    लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीकासँगै मखमली, सयपत्री, गोदावरीलगायत फुलका माला लगाइदिने गरिन्छ ।

    तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रमा भने पञ्चरङ्गी टीका लगाउने उल्लेख समितिले जनाएको छ । समितिका अनुसार तिहारमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने शास्त्रमा उल्लेख गरिएको छ ।

    टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिने धार्मिक परम्परा छ ।

    दिदीबहिनी नहुनेले काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गई पूजा र दर्शन गरी टीका लगाउने गर्छन् ।आज बिहानैदेखि मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेको भीड लागेको छ ।

     

    मिल्दो जुल्दो खबर