नुवाकोट /
जिल्लाको म्यागङमा नेपाल सितोरियो कराँते म्यागङ डोजोको मुख्य आयोजनामा दोस्रो म्यागङ अध्यक्ष कप खुल्ला कराँते प्रतियोगिता तथा कराँते खेलाडी सम्मान कार्यक्रम २०८१ हुने भएको छ ।प्रतियोगिता यहि मंसिर २९ गतेदेखि शुरु हुन लागेको हो।
डोजोका प्रमुख प्रशिक्षक अमृत तामाङको संयोजकत्वमा म्यागङ -३ देउरालीमा उक्त प्रतियोगिता संचालन हुने छ ।प्रतियोगितामा विभिन्न तौल समुहका खेलाडीहरु सहभागी रहन पाउनेछन् । सिनियर र जुनियरतर्फ गरि दुवै समूहको प्रतियोगिता रहने भएको छ ।
उक्त डोजोबाट उत्पादन भएको सिनियर खेलाडीहरुलाई विशेष सम्मान गर्ने गरि कार्यक्रम तय भएको हो । विगत लामो समय देखि कराँतेको तर्फबाट आफ्नो ठाउँलाई चिनाउन जीवन समर्पण गर्दै आएको साथै विभिन्न सानाठूला प्रतियोगिताहरुमा म्यागङलाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
निरन्तर घरेलु डोजोमा तालिम लिएर ब्ल्याक बेल्ट पार गर्न सफल खेलाडीहरुलाई प्रशंसा गर्दै सम्मान गर्ने निर्णय लिएको प्रशिक्षक अमृत तामाङले बताएको छ। प्रतियोगितामा निर्णायकका रुपमा अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णायकहरुको सहभागी रहने पनि जानकारी गराएका छन् ।