नुवाकोट /
बागमतीका मुख्यमन्त्री शालीकराम जमरकट्टेलले आज विश्वासको मत लिंदै छन्। जमकट्टेलले विश्वासको मत नपाउने पक्का छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार गठित सरकारले विश्वासको मत नपाएसँगै उपधारा तीन अनुसार कांग्रेसका बहादुरसिंह लामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्ने छन्।
यद्यपि कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति अनुरुप पनि लामा नै मुख्यमन्त्री बन्नेगरी दुई दलले सबै तयारी पुरा गरिसकेका छन्। प्रदेश प्रमुखले उपधारा दुई वा तीन जुन प्रयोग गरेपनि मुख्यमन्त्रीको दाबी पेश गर्ने सबै तयारी पुरा गरिसकेको एमाले सांसद केशव पोखरेलले जानकारी दिए।
‘केन्द्रको सहमति अनुसार कांग्रेसका बहादुरसिंह लामालाई हाम्रो समर्थन रहन्छ’ नेता पोखरेलले भने, ‘त्यसका लागि आवश्यक सबै तयारी पूरा भइसक्यो।’ यस अघि सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आन्तरिक गृहकार्य समेत भएको छ।
लामाले दाबी पेश गरेलगत्तै प्रदेश प्रमुखले नियुक्त गर्नेछन्। मुख्यमन्त्रीको सपथसँगै सबै मन्त्रीको नियुक्ति र सपथको तयारी गरिएको छ। सम्भव नभए हप्ता दिन भित्र टुंगो लगाउने तयारी दुई दलको छ। एमाले र कांग्रेसले ६–६ मन्त्रालय लिने मोटामोटी सहमति छ। एक मन्त्रालय खाली राख्नेगरी छलफल चलिरहेको छ।
तामाङ र नेवारी भाषालाई प्रदेशको भाषा बनाइएको बागमतीमा पहिलो पटक सबैभन्दा बढी २० प्रतिशत जनसंख्या भएको तामाङ समुदायबाट लामा मुख्यमन्त्री बन्दैछन्। कांग्रेसका ३७ र एमालेका २७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय गएर आजै दाबी पेश हुने छ।