
काठमाडौ/
जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।
सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलले विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताए। उनले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताए।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ। त्यसैले बदली छ। अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए। “अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ ।दुई/तीन दिन रहने यो प्रणालीले धान विगार्छ, खुलेपछि मात्रै काटौँ”, उनले भने।
उनका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ। अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ।
भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ। आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुन्छ ।घाम लाग्ने सम्भावना कम छ। साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने उनले बताए।रासस