
नुवाकोट /
जिल्ला लिग फुटबलको उपाधि नुवाकोट युनाईटेड फुटबल क्लबले जितेको छ।खेलको पहिलो हाफमा २-१ ले अग्रता लिएको क्लबले दोस्रो हाफमा थप एक गोल गर्दै उपाधि चुमेको हो ।
आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा न्यू स्टार क्लबलाई ३-१ गोल अन्तरले हराउँदै नुवाकोट युनाईटेडले उपाधी जितेको हो ।


लिग विजेता नुवाकोट युनाईटेडले नगद रु ५० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता न्यूस्टारले नगद रु २५ हजारसहित ट्रफी हात पारेको छ । फाईनल खेलमा नुवाकोट युनाईटेडका जर्सी नम्बर १० का सन्तोष थापा उत्कृष्ट खेलाडी घोषित भए ।खेलमा नुवाकोट युनाईटेडले दुईवटा र न्युस्टारले एकवटा पहेंलो कार्ड पाए ।
सेमीफाइनलमा नुवाकोट युनाईटेडले न्यु भिजन युवा क्लबलाई १-० हराउँदै फाइनल प्रवेश गरेको हो ।यस्तै, न्युस्टारले तप्त युथ क्लबलाई ट्राइब्रेकरमा ४-२ ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताभरमा अनुसाशित टिममा न्यू स्टार क्लब घोषित भए ।सर्वाधिक गोलकर्ता नुवाकोट युनाईटेडका साईन नगरकोटी, उत्कृष्ट गोल रक्षक नुवाकोट युनाईटेडका बिक्की बहादुर तामाङ र नुवाकोट युनाईटेडकै रामकाजी कुमाल उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट हुने खेलाडीहरुले जनही तीन हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।