बैगुनी लाई गुन लगाउनु भुल रैछ मेरो,
आफ्नै ठानी पछि आउनु भुल रैछ मेरो।
सुखदु:ख तितोमिठो सबै भयो ब्यर्थ,
ढुंगा जस्तो मन समाउनु भुल रैछ मेरो ।
मेरो जस्तै उन्को मुटु पनि होला कोमल,
सम्झिएर नजिक धाउनु भुल रैछ मेरो ।
अब म त एक्लो छैन सुनाएर जूनलाई ,
आधा रातमा गुन्गुनाउनु भुल रैछ मेरो ।
थाहा थिएन म भत्किएर रमिता हुनेछु,
खण्डहरमा दिप जगाउनु भुल रैछ मेरो ।
लक्ष्मी स्मृति, बिराटनगर-५
