काठमाडौ /
महिलालाई गेष्ट हाउसमा लगेर बलात्कार पछि उनको साथमा रहेको नगद र गहना लुटपाट गरी फरार रहेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९, घर भइ हाल बनेपा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङ रहेका छन्।
उनले गत जेठ २९ गते बेलुकी २४ वर्षीय ती महिलालाई काठमाडौं महानगरपालिका–११ भोटेबहालको एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको आरोप छ।
भोटे, जय, आशिषलगायतका नामबाट चिनिने तामाङले ती महिलालाई विवाहको प्रलोभनमा पारी गेष्ट हाउसमा लगेका थिए। त्यहाँ पेयपदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलातकारपछि उनी ती महिलाको साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए। पीडितले जेठ ३१ गते प्रहरी वृत्त कालीमाटीमा उजुरी दिएकी थिइन्। त्यसपछि ती महिलालाई परोपकार प्रसूतिगृहमा उनको स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
पीडकको नाम, थर, ठेगाना समेत थाहा नभएको, उनको फोटो समेत नरहेको र गेष्ट हाउसमा बस्दासमेत पीडित महिलाकै परिचयपत्र, मोबाइल नम्बर ‘इन्ट्री’ गराएको पाइएको थियो।
तर, प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा तामाङलाई यही असार ५ गते राति ११ बजे कालिमाटीबाट पक्राउ गरेको हो। उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौं प्रहरीले जनाएको छ।